काठमाण्डाै,२४ भदौ ।
रसुवाको भोटेकोशी नदीमा गएको भदौ १० गते आएको विनाशकारी बाढीको आज १५ औँ दिन, अहिलेसम्म १ हजार ३६७ जनाको शव भेटिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
अहिलेसम्म रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२६ र नवलपरासी पश्चिममा २२२ वटा शव भेटिएको छ । यस्तै उपचारका क्रममा काठमाण्डौमा २ जनाको ज्यान गएको छ ।
भेटिएको शवमध्ये १०२ वटा सनाखतपछि आफन्तलाई बुझाइएको छ ।
प्राधिकरणका अनुसार अहिलेसम्म १३ हजार ६४६ जनाको उद्धार भएको छ । उद्धार गरिएकामध्ये ३ हजार ६२८ जनाले रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् ।
अझै ५ हजार १३२ जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ । सम्पर्कविहीन हुनेमध्ये सबैभन्दा धेरै रसुवाबाट २ हजार ८६० र नुवाकोटबाट १ हजार ३९३ जना छन् । बाँकी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न निकायका सरकारी कर्मचारी तथा अन्य जिल्लाका नागरिक रहेका छन् ।
प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनालगायतका कामलाई तीव्र पारेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।






