काठमाडौँ,१९ भदौ ।
पार्टीको नीति,सिद्धान्त र निर्णयविपरीत काम गरेकाे भन्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेशका सांसदसहित स्थानीय तहका जनप्रतिनिधि तथा कार्यकर्तालाई पार्टीबाट निष्काशन गरेको छ ।
गत भदौ १६,१७ र १८ गते ललितपुरको बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो । बैठकपछि जारी विज्ञप्तिअनुसार पार्टीले लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरी पार्टी नीति उल्लङ्घन गर्ने चार जना प्रदेश सभा सदस्यहरूलाई निस्काशित गरेको जनाइएको छ ।
निष्कासनमा पर्ने सांसदहरूमा सन्तोष कुमार पाण्डेय, हेमा बेल्वासे (के.सी.), भण्डारीलाल अहिर र आदेश कुमार अग्रवाल रहेका छन् । यी सांसदहरूले पार्टीको निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरी सरकारमा समेत सहभागी भएकाले निष्काशन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, स्थानीय तहका जनप्रतिनिधि र नेताहरूलाई पनि निष्कासन गरिएको छ । जसमा लहान नगरपालिकाका उपप्रमुख राम चलित्तर महतो, विभिन्न वडाका अध्यक्षहरू रमेशकुमार यादव, विजयकुमार महतो, प्रकाशमान श्रेष्ठ, शम्भु कुमार व्यार, मो. मुस्तकिम र किस्मत राई रहेका छन् ।
कारबाहीमा पर्ने अन्यमा प्रदेश सभा सदस्य निर्मला तावा, खोटाङका जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राई, माम्सेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्वाङ, केपीलासगढीका उपाध्यक्ष गुरुराज राई लगायत दर्जनौँ वडा अध्यक्ष र सदस्यहरू रहेका छन् ।
उनीहरूलाई पार्टीको नीति, सिद्धान्त र विधान विपरीत कार्य गरेको आरोप लगाइएको छ । बैठकले रसुवागढीको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूका लागि प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
जसपाले अग्रगामी मोर्चा’ गठनको निर्णयलाई स्वागत गर्दै यसलाई सफल बनाउन सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ । पार्टीले संगठन सुदृढीकरणका लागि भदौ २१ गते पश्चिम नवलपरासी, २२ गते रुपन्देही र २३ गते कपिलवस्तु र दाङमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण आयोजना गर्ने तालिका सार्वजनिक गरेको छ ।






