काठमाडौं,१७ भदौ ।
हरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहानसम्म १ हजार १२७ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीका अनुसार रसुवामा ४५, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र भारतमा ९ जनाको शव फेला परेको हो ।
फेला परेका शवमध्ये १ हजार ११३ जनाको लासजाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ वटा शव आफन्तलाई बुझाइएको छ । पहिचानका लागि आवश्यक प्रक्रिया तथा डीएनए नमुना सङ्कलनपछि ८६९ शव व्यवस्थापन गरिएको छ । तीमध्ये १७४ महिला, २५७ पुरुष र ४३८ जनाको लिङ्ग पहिचान हुन सकेको छैन ।
पहिचान हुन नसकेका ९११ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार,खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९१२ प्रहरी कर्मचारी परिचालन गरिएको छ । प्रभावित क्षेत्रबाट ६ हजार ५४१ जनाको उद्धार गरिएको छ भने ४ हजार ८५८ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा ३ हजार २२५ जनालाई राखिएको छ । नुवाकोटमा २ हजार १२६, धादिङमा ३३१, रसुवामा ४३३ र काठमाडौंमा ३३५ जना रहेका छन् ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने,विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।





