काठमाडौँ,१६ भदौ ।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारमा खटिएका प्राविधिक प्रणय मगरले उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारसँग आवश्यक उपकरण तत्काल उपलब्ध गराउन आग्रह गरेका छन् ।

मगरले सामाजिक सञ्जालमार्फत प्राविधिकको सुझावअनुसार उद्धारको काम अघि बढाउन आग्रह गरेका हुन् । उनले प्राविधिक आवश्यक पर्ने हो भने प्राविधिकले दिएको सुझावअनुसार काम गर्नुपर्ने र त्यसअनुसार काम गर्न नसक्ने भए प्राविधिकलाई नै नबोलाउन आग्रह गरेका छन् ।

उद्धार कार्य सुरु भएको छ दिन बितिसक्दा पनि सुरुङभित्र प्रवेश गर्न आवश्यक मार्ग बनाउन नसकिएको उनले बताएका छन् । उनका अनुसार पहिलो दिनदेखि नै तीन–चारवटा डोजर र एउटा भत्काउने यन्त्र उपलब्ध भएको भए अहिलेसम्म उद्धार कार्य सम्पन्न भइसक्ने अवस्था थियो ।

उनले तीनवटा डोजर दिनरात सञ्चालन भइरहेको समाचार आए पनि स्थलगत रूपमा भने एउटा मात्र डोजर सञ्चालनमा रहेको दाबी गरेका छन् ।

मगरले उद्धारमा ढिलाइ नगर्न सरकारसँग आग्रह गर्दै आवश्यक सबै उपकरण तत्काल घटनास्थलमा उपलब्ध गराएर उद्धार कार्यलाई सहजीकरण गर्न अनुरोध गरेका छन् । साथै, जतिसक्दो छिटो उद्धार कार्य सम्पन्न गरी घरमा आफन्तको पर्खाइमा रहेका परिवारलाई ढुक्क बनाइदिन सरकारसँग आग्रह गरेका छन् ।

साथै आफ्नो पोष्टमा आएको प्रतिक्रियाप्रति उनले लेखेका छन्

हिजो मैले गरेको पोस्टमा आएका सबैको प्रतिक्रिया हेर्दा दुःख लाग्यो । मैले फेक समाचार लेख्ने सामाजिक सञ्जाल र वास्तविक फिल्डको अवस्थाबारे मात्र गुनासो गरेको हुँ, कुनै पार्टी, दल, व्यक्ति तथा सरकारप्रति होइन। यो कुरा सबैले बुझ्न जरुरी छ र बुझ्न पनि पर्छ ।

हामी सबै जनता सामाजिक सञ्जालमा आएका समाचारमा आशा र भरोसा राखेका हुन्छौँ । मेरो एउटै मात्र गुनासो भनेको साँचो र वास्तविक समाचार मात्र लेखिदिनुहोस् भन्न खोजेको हो । फिल्डमा काम भइरहेको हुन्छ तर सामाजिक सञ्जालमा काम सकिसकेको समाचार आइदिन्छ । यस्तो गलत समाचार फैलाउने प्रवृत्तिलाई रोक्न जरुरी छ ।

एउटा–एउटा समाचारको महत्व धेरै नै हुन्छ । त्यसैले गलत समाचारले कतै सबैलाई निराश नबनाओस् भन्ने मेरो भनाइ हो । हो, त्यो ठाउँमा काम गर्न धेरै नै गाह्रो छ । सक्दो प्रयास भइरहेको छ । काम नभएको होइन, काम भइरहेको छ। तर त्यो कामलाई अझै छिटो गर्न सकिन्छ भने त्यसका लागि आवश्यक व्यवस्था मिलाइदिन साइटमै खटिनुभएका माननीयज्यूहरूसँग मेरो अनुरोध मात्र हो ।

मजस्तै कयौँ प्राविधिक र मजस्तै कयौँ परिवारको आशालाई मर्न नदिऔँ भन्ने मात्र मेरो उद्देश्य हो । सुरुङभित्र रहेका सबै मानिसको सकुशल उद्धार होस् भन्ने मेरो चाहना हो ।

मेरो एउटै बिन्ती छ—काम भइरहेको समाचार लेखिदिनुहोस्, तर जे भएको छ, जति भएको छ, त्यति नै लेखिदिनुहोस् ।