२३३ शवमध्ये पाँचको मात्र पहिचान
चितवन,१३ भदौ ।
भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नारायणी नदी किनारमा फेला परेका पहिचान खुल्न नसकेका शवलाई देवघाटस्थित जंगलमा व्यवस्थापन गरिने भएको छ ।
चितवनमा हालसम्म फेला परेका २३३ शवमध्ये पाँचवटाको मात्र पहिचान खुलेको छ । पहिचान हुन नसकेका शव सड्न–गल्न थालेपछि दुर्गन्ध फैलिनुका साथै सङ्क्रमणको जोखिम बढेकाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शव व्यवस्थापनको तयारी गरिएको हो ।
शव व्यवस्थापनका लागि भरतपुर महानगरपालिका–१ स्थित रामनगर–देवघाट सडकखण्ड नजिकको जङ्गलमा स्थान तयार पारिएको छ । सुरक्षाकर्मीको उपस्थितिमा दुईवटा डोजर प्रयोग गरी तीनवटा खाडल खनिएको छ । प्रत्येक खाडल करिब १.५ मिटर गहिरो रहेको छ ।
शवलाई व्यवस्थित रूपमा राख्न एकातर्फ खुट्टा र अर्कोतर्फ टाउको पर्ने गरी व्यवस्थापन गर्ने तयारी गरिएको चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले बताए ।
उनका अनुसार पहिचान नखुलेका शवलाई ब्यागमा राखेर व्यवस्थापन गरिनेछ। शव व्यवस्थापनका लागि आवश्यक ब्यागको अभाव नरहेको उनले बताए ।
शवलाई गाडेपछि पनि पहिचानको प्रक्रिया रोकिँदैन । प्रत्येक शवबाट डीएनए परीक्षणका लागि नमुना सङ्कलन गरी सुरक्षित राखिनेछ ।
भविष्यमा कुनै परिवारले आफ्नो आफन्त भएको दाबी गरेमा डीएनए परीक्षणमार्फत पहिचान खुलाउन सकिने र पहिचान पुष्टि भएमा आवश्यक प्रक्रियापछि शव निकालेर परिवारलाई बुझाउन सकिने गरी व्यवस्थापन गरिने पौडेलले बताए ।
भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएका शव नारायणी नदीको विभिन्न क्षेत्रमा भेटिएका हुन् । लामो समयसम्म शव राखिरहँदा सड्न–गल्न थालेपछि व्यवस्थापनमा समस्या देखिएको थियो ।
शवबाट दुर्गन्ध फैलिन थालेको तथा सङ्क्रमणको जोखिमसमेत बढ्न सक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षित र व्यवस्थित रूपमा शव व्यवस्थापन गर्न लागिएको हो । पहिचान हुन नसकेका शवको व्यवस्थापन भए पनि आफन्तको खोजी तथा पहिचानको प्रक्रिया भने निरन्तर रहने जनाइएको छ ।






