काठमाडौँ,१३ भदौ ।
रसुवाको भोटेकोशी लगायतका क्षेत्रमा आएको भीषण बाढी र पहिरोमा परेर हालसम्म ६ सय २६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोसी बाढीसम्बन्धी सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार हालसम्म ६ सय २६ जनाको शव फेला परेको छ ।

शव भेटिएका स्थानहरूको विवरण हेर्दा सबैभन्दा बढी चितवनमा २ सय ३३ जनाको शव फेला परेको छ । नवलपरासी पूर्वमा १ सय ५८ तथा नवलपरासी पश्चिममा ४७ जनाको शव भेटिएको छ । नुवाकोटमा ५१, गोरखामा ४८, धादिङमा ४५, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको प्राधिकरणको तथ्याङ्क छ ।

बाढीमा परी अझै २ हजार ४ सय २६ जना सम्पर्कविहीन छन् । बेपत्ता हुनेमा ठुलो सङ्ख्या जलविद्युत् आयोजनाका कामदारहरूको रहेको छ । आयोजनाहरूबाट मात्रै ९ सय ३३ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ । सुरक्षाकर्मीतर्फ नेपाली सेनाका ४५, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना बेपत्ता छन् ।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार रसुवामा ५ सय ६२, नुवाकोटमा १ सय १५ र मकवानपुरमा ६५ जना सम्पर्कविहीन छन् । विदेशी नागरिक ५ सय १७ जना र बिदा मनाउन आएका विदेशमा बस्ने नेपाली १ सय २७ जनाको अवस्था पनि अज्ञात छ। भन्सार कार्यालयका १५, अध्यागमनका ४ र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि बेपत्ताको सूचीमा छन् ।

विपद्ग्रस्त क्षेत्रमा खोज तथा उद्धारका लागि १५ हजार २ सय २४ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका ६ हजार ७ सय ५५, नेपाल प्रहरीका ४ हजार ८ सय ११ र सशस्त्र प्रहरी बलका ३ हजार ६ सय ५८ जना खटिएका छन् ।

हालसम्म ४ हजार ४ सय ५१ जनाको जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये १ सय ९१ जनालाई जलविद्युत् आयोजनाको सुरुङबाट निकालिएको हो। आज मात्रै ५ सय १७ जनाको हवाई उद्धार गरिएको छ । विदेशी नागरिक १ सय २९ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

हवाई उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका १६ वटा हेलिकप्टरमार्फत ९९ उडान भरिएको छ । घाइतेमध्ये १ सय १ जनाको अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको उपचारका लागि सर्जिकल मेडिकल टिमसमेत परिचालन गरिएको छ ।

बाढीले सञ्चार क्षेत्रमा पनि ठुलो क्षति पुर्‍याएको छ । कुल १ सय ९८ वटा टेलिफोन टावरमा क्षति पुगेकोमा मर्मतपछि १ सय ४४ वटा सञ्चालनमा ल्याइएको छ। सरकारले प्रभावित क्षेत्रमा राहत वितरणलाई पनि तीव्रता दिएको छ ।

नेपाल सरकारबाट रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ । १५ वटा पालिकाका लागि ६ करोड ७५ लाख रुपैयाँ पठाइएको छ । हालसम्म ३७ ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ । हेलिकप्टरमार्फत ७ उडान गरी थप सामग्री र सञ्चार सेटहरू प्रभावित क्षेत्रमा पुर्‍याइएको छ ।

उद्धार कार्यलाई निरन्तरता दिन इन्धनको पनि व्यवस्थापन भइरहेको छ। नुवाकोटस्थित विभिन्न आयल स्टोरमा ४१ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात छ । हवाई इन्धनतर्फ ३९ हजार लिटर नुवाकोट पठाइसकिएको छ। हाल ८ हजार लिटर मौज्दात छ भने थप ९ हजार लिटर बाटोमा रहेको प्राधिकरणले उल्लेख गरेको छ ।

विपद्को चपेटामा परेका २,३०१ जनाको उद्धार गरिएको छ। जसमध्ये नुवाकोटबाट १,६२२ जना, रसुवाबाट ६७६ जना र धादिङबाट ३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेहरूको संख्या १४० पुगेको छ ।

उद्धार तथा राहत कार्यका लागि देशभर ४,८११ जना प्रहरी कर्मचारी परिचालित छन् ।