घाईतेहरुको तत्काल उद्दार,उपचार र घरवास विहिनहरुको लागि गास बासको व्यवस्था गर्न माग
बुटवल,१० भदौ ।
भोटेकोशी,त्रिशूलीलगायतका नदिमा आएको बिनासकारी बाढीबाट पीडितहरुको उद्दार र राहत कार्यमा हातेमालो गर्न राष्ट्रिय जनमुक्ति पार्टीले आग्रह गरेको छ ।
पार्टीका महासचिव टोप अस्लामीले एक प्रेस विज्ञप्ति जारी गरि
पीडितहरुको उद्दार र राहत कार्यमा हातेमालो गर्न पार्टी पङ्ति र आम नेपाली जनसमुदायमा आग्रह गरेका हुन् ।
बिहान करीब ९ बजेको समय सेरोफेरो चीन तर्फबाट आएको भीषण बाढीका कारण नेपालको रसुवा नाका हुँदै विभिन्न जिल्ला (रसुवा- धादिङ-गोरखा) जिल्लाका कैयौं बजार क्षेत्रहरू,पक्की पुलहरू, विद्यालयहरु,विभिन्न कार्यालयहरु लगायतका भौतिक संरचनाहरु साथै ठूलो मानवीय क्षति भएको घटनाले पार्टीलाई स्तब्ध बनाएको भन्दै विज्ञप्तिमा तत्काल उद्वार र राहत कार्यमा जुट्न सबैमा आग्रह गरिएको छ ।
भोटेकोशी हुदै नेपालको उत्तरी भाग तर्फ घुम्न निस्केका स्वदेशी एवम् विदेशी पर्यटकहरु, करीब तीन दर्जन सुरक्षाकर्मीहरु, कर्मचारीहरु, तटीय क्षेत्रमा काम गर्ने कामदारहरु सम्पर्क विहिन भएको समाचारहरु आईरहेकाे जनाउँदै विज्ञप्तिमा यो विपत्तिमा नेपाल सरकारले तत्काल आपतकालिन निर्णय सहित उद्दारको पहलकदमी लिएको र नेपाल-चीन सीमावर्ती क्षेत्रमा पनि छिमेकी चीनको सकृयतामा दुवै देशका तर्फबाट सामूहिक उद्दारको लागि तत्काल प्रयास थालनी भएकोमा आभार प्रकट गरिएकाे छ ।
यस्ता विपत्तिमा पीडितहरुको उद्दार,दिवङ्गतहरुको खोजी कार्यमा हामी सबैले एक भएर सक्दो हातेमालो गर्न आह्वान गर्दै महासचिव अस्लामीले विशेष गरी क्षतिग्रस्त नदी तटीय क्षेत्र (बाढीले क्षति पुरयाएका क्षेत्र) मा गम्भीरतापूर्वक ध्यान दिन,कसैले पनि अपुष्ट समाचार र सन्देश प्रवाह नगर्न आव्हान समेत गरेका छन् ।
आजको विपत्तिमा परी असामयिक रुपमा दिवङ्गत भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै विज्ञप्तिमा उनिहरूको आत्माको चीर शान्तिको कामना गरिएकाे छ । साथै विज्ञप्तिमा घाईतेहरुको तत्काल उद्दार, उचित उपचार,घरवास विहिन भएकाहरुको लागि गास बासको व्यवस्थामा कुनै कमी नआओस् भन्ने माग गरिएको छ ।




