कपिलवस्तु,५ भदौ ।
कपिलवस्तुमा ट्रकको ठक्करबाट एक महिला साइकलयात्रीको मृत्यु भएको छ ।
जिल्लाकाे कपिलवस्तु नगरपालिका–१, आन्दोलन चोकस्थित हुलाकी सडकखण्डमा कृष्णनगरबाट भैरहवातर्फ जाँदै गरेको मोरङको सुनवर्षी नगरपालिका–१० निवासी ४३ वर्षीय कृष्णप्रसादले चलाएको ना ५ ख २३६० नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेकी साइकलयात्री जिल्ला कपिलवस्तु नगरपालिका–२, बर्गदवा बस्ने अन्दाजी २२ वर्षीया निशा गद्दीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी निशालाई प्रहरी टोलीले उद्धार गरी जिल्ला अस्पताल तौलिहवा पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो ।
ट्रक तथा ट्रक चालक जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको नियन्त्रणमा रहेका । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






