काठमाडौं,२० साउन ।
नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्र देखिएको असमझदारी अन्त्य गर्नको लागि नेतृत्व तहमा छलफल भइरहेको बताएका छन् ।
‘देश र कांग्रेस जोड्ने अभियान’ अन्तर्गत आयोजित एकता-सद्भाव विमर्श भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसभित्रको समस्या समाधानका लागि चारवटा प्रमुख विकल्पमा छलफल भइरहेको जानकारी दिए । नेता महरसहित रन्जित कर्णलगायत नेताहरुले सहमतिको लागि दबाब दिनको लागि तेस्रो धारको निर्माण गरेका हुन्।
कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ताको चाहना पार्टी एकताबद्ध, सशक्त र प्रभावकारी बनोस् भन्ने रहेको दाबी गरे। देश जटिल परिस्थितिमा रहेको भन्दै पार्टीलाई साझा घरका रूपमा लिएर सबैले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
कांग्रेसजस्तो लामो इतिहास, ठूलो संगठन र लाखौँ मतदाताको समर्थन भएको पार्टी अहिले संवेदनशील बन्न नसकेको भन्ने आलोचना भइरहेकाले त्यसलाई सुधार्नु आवश्यक रहेको बताए । पार्टीभित्र सत्य कुरा बोल्न र एकताका लागि दबाब सिर्जना गर्न नेतृत्व र कार्यकर्ता दुवै सक्षम हुनुपर्ने उनको भनाइ थियो ।
उनले भने, ‘पछिल्ला करिब दुई महिनादेखि सभापति, पूर्वसभापति, वर्तमान तथा पूर्वपदाधिकारीहरूसँग निरन्तर संवाद भइरहेको छ। पार्टी विभाजनको मुख्य कारण वैचारिकभन्दा पनि १५औँ महाधिवेशनको सम्भावित परिणाम र शक्ति सन्तुलनको गणित बनेको छ । समस्या धेरै ठूलो होइन, महाधिवेशनपछि कसको हैसियत के हुन्छ भन्ने चिन्ताले नेताहरूलाई दुई धारमा उभ्याएको देखिन्छ ।’
पार्टी एकताका लागि आफूहरू व्यक्तिगत पद र अवसरसमेत त्याग्न तयार रहेको उनले स्पष्ट पारे । उनले थपे, ‘पार्टी मिल्छ भने हामीलाई केन्द्रीय समिति चाहिँदैन। म लगायत करिब ३५ जना सदस्य आफ्नो पद छाड्न तयार छौँ ।’
सहमति जुटाउन चार प्रमुख विकल्पमा छलफल भइरहेको बताए ।
पहिलो, सबै पक्षको सहभागितासहित निष्पक्ष महाधिवेशन सुनिश्चित गर्ने ।
दोस्रो, सदस्यता छानबिन समिति, निर्वाचन समिति र अनुशासन समितिजस्ता महाधिवेशनसँग सम्बन्धित संरचनामा सर्वसम्मत सहभागिता सुनिश्चित गर्ने ।
तेस्रो, सभापतिको नेतृत्वमा विशेष संयन्त्र गठन गरेर महाधिवेशनसम्बन्धी विवाद समाधान र आवश्यक तयारीलाई निष्पक्ष ढङ्गले अघि बढाउने ।
चौथो, विधानभित्र रहेर सबै पक्षलाई समेट्ने गरी बाँकी संरचनामा सहमति खोज्ने ।
उनले सभापतिको नेतृत्वमा बन्ने संयन्त्रमा कुनै पदको प्रतिस्पर्धाभन्दा पनि महाधिवेशनलाई निष्पक्ष बनाउन आवश्यक काम सम्पन्न गर्ने जिम्मेवारी दिइनुपर्ने प्रस्तावसमेत अघि सारिएको बताए । यस विषयमा सभापति र पदाधिकारीहरूसँग सकारात्मक छलफल भइरहेको उनको भनाइ छ ।
आगामी साउन २४ गते बस्ने केन्द्रीय समिति बैठकले पार्टी एकताको दिशामा महत्त्वपूर्ण निर्णय गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘धेरै विषयमा हामी नजिक–नजिक पुगेका छौँ। २४ गतेको बैठकले कांग्रेस मिलनको प्रक्रियामा ठूलो फड्को मार्ने अपेक्षा छ ।’
कांग्रेस कुनै व्यक्ति वा परिवारको संगठन नभई जनताको आशाको चौतारी भएकाले त्यसलाई जोगाउने जिम्मेवारी सबैको भएको बताए । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पार्टीभित्रको विवाद लम्बिए त्यसको प्रत्यक्ष असर चुनावी परिणाममा पर्ने चेतावनी दिए ।






