बालेन सरकारको दिनगन्ती सुरु भइसकेको टिप्पणी
काठमाडौँ,२० साउन ।
नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिस्ट आन्दोलनको एउटा चरण पूरा भएको टिप्पणी गरेका छन् । आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर कम्युनिस्ट आन्दोलनलाई अघि बढाउने नयाँ प्रस्ताव अघि सारे ।
उनले भने, ‘सबै कम्युनिस्ट पार्टीहरूमा एउटा बहस चलिरहेका छन् । कुनै एक दलले या एउटा नेताले मात्रै लिएर गइहाल्ने कम्युनिस्ट आन्दोलन देखिँदैन। नयाँ कम्युनिस्ट केन्द्र नेपालको एउटा दृष्टिकोणसहित कम्युनिस्टलाई पुनर्गठन गर्नुपर्छ । नयाँ घोषणापत्र, नयाँ दृष्टिकोणसहित गएपछि मात्रै कम्युनिस्ट आन्दोलन युवाहरूको बिचबाट फेरि उठेर आउँछ ।’
दुई दशकमा कम्युनिस्ट नेता र कम्युनिस्ट पार्टीहरूबाट भएका गल्तीले गर्दा ७० प्रतिशतबाट जनमत खुम्चिएर २२–२५ प्रतिशतमा आइसकेको बताए। कम्युनिस्ट आन्दोलनलाई एउटा नयाँ अवधारणा र दृष्टिकोणसहित रूपान्तरण पुनर्गठन गर्नुपर्ने जरुरी रहेको बताए ।
यस्तै, उनले बालेन शाह नेतृत्वको सरकारको दिनगन्ती सुरु गरेको जस्तो देखिएको बताए । उनले भने, ‘कति यथार्थ हो, कति काल्पनिक हो, हेर्नुपर्छ। तर पनि विभिन्न बौद्धिक, विज्ञ, बुद्धिजीवी, राजनीतिज्ञ, कूटनीतिज्ञहरू बिचमा यो सरकारको दिनगन्ती सुरु भइसकेको भनेको जस्तो देखिन्छ । मान्छेले दसैँ–तिहार अगाडि नै रहँदैन भन्या जस्तो, दसैँ–तिहार पछि जान भनेकोजस्तो देख्दैछौँ ।’ सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताए ।






