चितवन,१८ साउन
नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिन बजार नजिकै आज (सोमबार) दिउँसो पहिरो खसेपछि सडक पूर्णरूपमा दुईतर्फी अवरुद्ध भएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार आज दिउँसो करिब २ः१० बजे पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध भएको हो । सडक खुलाउन डिभिजनको उपकरण तथा प्राविधिक टोली तत्काल परिचालन गरिएको छ ।
पहिरो हटाउने कार्य जारी रहेकाले सडक सञ्चालनमा आउन केही समय लाग्न सक्ने जनाइएको छ । यस अवधिमा उक्त सडक प्रयोग गर्ने यात्रु तथा सवारी चालकलाई सुरक्षित स्थानमा प्रतीक्षा गर्न र वैकल्पिक व्यवस्था अपनाउन सडक डिभिजनले आग्रह गरेको छ ।






