काठमाडौं, १८ साउन ।
राजावादी अभियन्ता डा. धवलशम्सेर राणाले आफ्ना सहकर्मी दुर्गा प्रसाईको पक्राउको निन्दा गर्दै तत्काल रिहाइको माग गरेका छन् ।

उनले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै आलोचना, फरक मत तथा मत–अभिमत लोकतान्त्रिक पद्धतिका आधारस्तम्भ भएको उल्लेख गरेका छन् । नागरिकप्रति सरकारको जवाफदेहिता, प्रजातान्त्रिक सन्तुलन तथा समाजको उन्नति–प्रगतिका लागि विचार तथा अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भएको उनको भनाइ छ ।

‘सरकारको आलोचना गर्नै नपाइने हो भने त्यस्तो शासन प्रणाली लोकतान्त्रिक रहन सक्दैन,’ विज्ञप्तिमा उल्लेख छ ।

राणाले विविध आस्था, धर्म, संस्कृति र परम्पराबीचको सद्भाव, सम्मान र सहअस्तित्व नेपाली समाजको मौलिक विशेषता भएको उल्लेख गर्दै पछिल्ला दिन देशका केही क्षेत्रमा देखिएको आपसी द्वन्द्व, झडप, आगजनी र जनधनको क्षतिप्रति चिन्ता व्यक्त गरेका छन् ।

उनले यस्तो संवेदनशील अवस्थामा नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्नु, दिगो शान्तिको वातावरण कायम गर्नु तथा सरकारको जवाफदेहिताका लागि खबरदारी गर्नु नागरिकको कर्तव्य भएको बताएका छन् ।

यही सन्दर्भमा विश्वव्यापी रूपमा स्थापित मानवअधिकार तथा संविधानप्रदत्त विचार एवं अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेर अभिव्यक्ति दिएकै कारण दुर्गा प्रसाईलाई गएराति निवासबाट पक्राउ गरिएको भन्दै राणाले त्यसको निन्दा गरेका छन् ।
उनले दुर्गा प्रसाईको तत्काल रिहाइ गर्न सरकारसँग मागसमेत गरेका छन् । गएराति पक्राउ परेका प्रसाईं अहिले भक्तपुर प्रहरीको हिरासतमा छन् ।