काठमाण्डौ,१८ साउन ।
मनसुन फेरि सक्रिय भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिभागका अनुसार हिजो मध्य र पश्चिम तराईका धेरै ठाउँ तथा गएराति मध्य र पूर्वी क्षेत्रका धेरैजसो ठाउँमा पानी परेको थियो । आज पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।
आज विशेषगरी तीन वटा प्रदेश कोशी, बागमती र गण्डकीका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ । अरु पहाडी र तराईका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ । काठमाण्डौ उपत्यकामा पनि थप वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आजराति पनि कोशी, बागमती र गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने सम्भावना छ । मनसुन सक्रिय रहेको हुँदा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले भोलि बिहानसम्म नै सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।
विशेषगरी नदी तटीय क्षेत्र, पहिरोको जोखिम रहेका ठाउँ अनि यात्राका बेला चनाखो रहन अनुरोध गरिएको छ । यात्रा गर्नुअघि सडक र मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न विभागले आग्रह गरेको छ ।






