काठमाडौं,१६ साउन ।
साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले बिभिन्न जिल्लाबाट ६५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार साउन १६ गते बिहान ९ बजेसम्म गरिएको कारबाहीमा सबैभन्दा धेरै धनुषाबाट ४५ जना पक्राउ परेका छन् । त्यसैगरी सर्लाहीबाट ९ जना, सिरहाबाट ५ जना, महोत्तरी र सुनसरीबाट २-२ जना र पर्सा र सप्तरीबाट १-१ जना पक्राउ परेका छन् ।

विभिन्न जिल्लामा साम्प्रदायिक सद्भाव बिथोल्ने तथा सामाजिक शान्ति भंग गर्ने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाउँदै कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा सार्वजनिक शान्ति कायम राख्न सबैलाई संयमित हुन आग्रह गर्दै कानुनविपरीतका गतिविधिमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट गरेको छ ।

प्रहरीले ‘विविधतामा एकता, हाम्रो पहिचान’ भन्ने सन्देशसहित सबै समुदायलाई आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न पनि अपिल गरेको छ ।