काठमाडौं,१४ साउन ।
प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिराहा लगायतका क्षेत्रमा हालै भएका घटनापछि उत्पन्न परिस्थितिप्रति सरकार गम्भीर रहेको बताएका छन् । देशवासीका नाममा सम्बोधन गर्दै उनले शान्ति, सामाजिक सद्भाव र कानुनी शासन कायम गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरे । साथै, घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइसकेको जानकारी दिए ।
घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गर्दै उनले दोषी जोसुकै भए पनि कानुनबमोजिम कारबाही गरिने विश्वास दिलाए । छानबिन निष्पक्ष, पारदर्शी र विश्वसनीय हुने उनको भनाइ थियो ।
प्रधानमन्त्रीका अनुसार, थप अप्रिय घटना हुन नदिन सुरक्षा निकायलाई तत्काल परिचालन गरिएको छ। स्थानीय अवस्थाको प्रत्यक्ष अनुगमन तथा शान्ति सुरक्षा व्यवस्थापनका लागि गृहमन्त्री स्वयं घटनास्थल पुगेको र राष्ट्रिय सुरक्षा परिषद्को बैठकमार्फत आवश्यक निर्णयहरू समेत गरिएको उनले बताए ।
परिस्थितिलाई सामान्य बनाउन केन्द्रमा सर्वदलीय बैठक बोलाइएको तथा स्थानीय तहमा निरन्तर संवाद भइरहेको जानकारी दिँदै उनले सबै पक्षलाई संयम अपनाउन आग्रह गरे ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलाइने अफवाह,भ्रामक सूचना र घृणायुक्त सामग्रीप्रति सचेत रहन आग्रह गर्दै सरकारी निकायबाट जारी हुने आधिकारिक सूचनालाई मात्र विश्वास गर्न सबै नागरिकसँग अपिल गरे ।
उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई धर्म, संस्कृति र परम्परा पालन गर्ने मौलिक अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै कुनै पनि धर्मले हिंसा,द्वेष वा विभाजनको शिक्षा नदिने उल्लेख गरे । एक स्थानको घटनालाई आधार बनाएर सम्पूर्ण समुदायलाई दोषारोपण गर्नु वा प्रतिशोधको भावना फैलाउनु अनुचित हुने उनको भनाइ थियो ।
शान्ति सुरक्षा भंग गर्ने, सामाजिक सद्भाव बिगार्ने र अराजक गतिविधिमा संलग्न हुने जोसुकैमाथि सरकारले कडा कानुनी कदम चाल्ने चेतावनी दिँदै प्रधानमन्त्री शाहले आम नागरिक, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज र सञ्चारमाध्यमलाई राष्ट्रिय एकता, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।






