काठमाडौँ, १४ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटना र त्यसमा भएको मानवीय क्षतिको विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेकी छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नागरिकको ज्यान जाने गरी भएको गोली प्रहारको घटनामा कसको संलग्नता र आदेश छ भन्ने कुरा सार्वजनिक हुनुपर्ने बताइन् ।
सांसद ओलीले सुनसरी घटनामा ओमप्रकाश मेहताको मृत्यु भएको र दर्जनौँ नागरिक घाइते भएको विषयमा आपत्ति जनाइन् । उनले शान्तिपूर्ण समाजमा नागरिकमाथि गोली प्रहार हुनु लोकतन्त्रका लागि लज्जास्पद विषय भएको बताइन् ।
‘सुनसरीको कप्तानगञ्जमा गोली कसले चलाएको हो ? कसको आदेशमा नागरिकमाथि हतियार प्रहार भयो ? यो कुरा पीडित परिवार र आम जनताले जान्न पाउनुपर्छ,’ सांसद ओलीले भनिन्, ‘के सरकारले आफ्नै नागरिकमाथि गोली बर्साएर शान्ति सुरक्षा कायम गर्न खोजेको हो ?’






