कपिलवस्तु,१४ साउन ।
कपिलवस्तुमा टिपरको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

शिवराज नगरपालिका –५ दक्षिण रहटकोलमा ना ८ ख ६३१० नम्बरको टिपरले ठक्कर दिँदा अपरिचित पुरुषको मृत्यु भएको हो ।

बुधबार राति करिब ११:२० बजे संजीवनी चोकबाट दक्षिण रहटकोलतर्फ जाँदै गरेको टिपर सडकमा पैदल हिँडिरहेका व्यक्तिलाई ठक्कर दिएको थियो ।

करिब ४५ वर्षका जस्ता देखिने मृतकको हालसम्म नाम, थर र ठेगाना नखुले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

टिपरको ठक्करबाट गम्भीर घाइते उनलाई प्रारम्भिक उपचार संजीवनी सामुदायिक अस्पताल, चन्द्रौटामा गरेपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल रिफर गरिएको थियो ।

बिहीबार बिहान २:७ बजे उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

दुर्घटनालगत्तै वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले टिपर चालक कपिलवस्तु शिवराज नगरपालिका – ५ बस्ने ३७ वर्षीय सुरज चौधरीलाई नियन्त्रणमा लिएको छ ।

मृतकको पहिचानको प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।