काठमाडौँ,१४ साउन ।
हाल (बिहीबार बिहान) देशभर साधारणतया बादल लाग्नुका साथै सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोसी प्रदेशको तराईको केही स्थान, मधेस प्रदेश तथा बागमती, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोसी,मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा हुरीको समेत सम्भावना छ। कोसी र बागमती प्रदेशका हिमाली र पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ । कोसी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा, मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोसी प्रदेशका पहाडी र तराई भूभाग साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज काठमाडौँ उपत्यकामा पनि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
अहिले बिहान पनि काठमाडौँ उपत्यकाको आकाश बादलले ढाकेको छ ।
तर २ घण्टाअघिको तुलनामा अहिले काठमाडौँ उपत्यकाको मौसम केही सुधार भएको मौसम महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए ।
यद्यपि केही बेर मौसम सुधार भएजस्तो हुने भए पनि दिउँसो फेरि बादल बढ्दै गएर वर्षा हुने प्रबल सम्भावना रहेको उनले बताए ।







