काठमाडौं,१२ साउन ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा वा निर्वाचित भएको दलले कारवाही गरेमा पद रिक्त हुने सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मंगलवार कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेपछि निर्वाचन आयोग पद रिक्त गरेको सूचनालाई सदर गरेको छ ।

आयोगको निर्णय र सम्बन्धित दलको कारवाहीको विरुद्ध अन्तरिम आदेश माग गर्दै गएको एक गाउँपालिका अध्यक्ष,तीन वडाध्यक्षसहितको रिट खारेज भएको छ ।

यसअघि स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएपछि सर्बोच्चकै एकल इजलासको अन्तरिम आदेशबाट पुनर्वहाली हुने गरेका थिए ।

ओखलढुंगामा एमालेबाट निर्वाचित वडाध्यक्ष सुरेश थापा, कमल बानियासहित ३ जना र कांग्रेसबाट निर्वाचित जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्ष दानवहादुर बस्नेतसहितले पद पुनर्वहालीको लागि दिएको रिट निवेदन खारेज भएको छ ।

त्यस्तै एमालेबाटै निर्वाचित ललितपुरका वडाध्यक्ष होमप्रसाद बजगाई र कांग्रेसबाट निर्वाचित नवलपरासीकी फतिमा अन्सारीको पनि रिट निवेदन खारेज भएको छ ।