काठमाण्डौ,११ साउन ।
काठमाण्डौ उपत्यकासहित देशका मध्य र पूर्वी भेगका धेरै ठाउँमा रातभर झरी परेको छ ।

काठमाण्डौसहित धेरै ठाउँमा अहिले घाम लागेको छ भने केही ठाउँमा अहिले पनि पानी पररहेको छ । अहिले घाम लागेको ठाउँमा पनि दिउँसो र बेलुकीपख पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका धेरै ठाउँमा,बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा तथा कोशी प्रदेशको तराई भेग र मधेश प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

गण्डकी र कर्णाली प्रदेशको पहाडी भेगका एक/दुई ठाउँमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भेगका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भरे राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।