परासी,९ साउन ।
जेनेजी आन्दोलनका क्रममा कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का अनुसार साउन ७ गते दिउँसो करिब १ः३० बजे इलाका प्रहरी कार्यालय, बर्दघाटबाट प्रहरी निरीक्षक कृष्ण डाँगीको कमाण्डमा खटिएको टोलीले लागूऔषध सम्बन्धी सूचनाका आधारमा खोजतलास गर्ने क्रममा फरार कैदीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बर्दघाट नगरपालिका–४ निवासी ४५ वर्षीय टोपबहादुर परियार रहेका छन् । उनी २०८२ भदौ २३ र २४ गते भएको जेनेजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए ।
प्रहरीले खोजतलासका क्रममा टोपबहादुर परियार र देवचुली नगरपालिका–४ निवासी ३० वर्षीय सञ्जय दर्जीलाई शंकास्पद अवस्थामा फेला पारी शरीर तथा घरकोठा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा टोपबहादुर परियारको साथ तथा घरबाट Spas Proxymec नामका ७७ क्याप्सुल, Nitzascen-16 का १६ ट्याब्लेट र ८०५ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । यस्तै, सञ्जय दर्जीको साथबाट Spas Proxymec का ४ क्याप्सुल पनि बरामद गरिएको छ ।
दुवै जनालाई नियन्त्रणमा लिई सम्मानित अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






