काठमाण्डौ,६ साउन ।
नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले आज काठमाण्डौमा ‘ग्रीन रन’ प्रतियोगिता गरेको छ ।
ललितपुरको यूएन पार्कबाट शुरु भएको ५ किलोमिटर दूरीको दौडमा पुरुषतर्फ मुकेशबहादुर पाल प्रथम हुनुभएको छ। उहाँले प्रतियोगिताको निर्धारित दूरी १६ मिनेट १५ दशमलव ७ सेकेण्डमा पूरा गर्दै ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । नरेन्द्र सिंह रावल दोस्रो र सञ्जय श्रेष्ठ तेस्रो भए ।
महिलातर्फ सहभागीले निर्धारित रुट छोडेकाले पुनः सञ्चालन गरिने भएको छ । यसैअवसरमा ‘मानव सहायता कल्याण कोष’ स्थापनाको घोषणा गरिएको छ। यसैबीच ललितपुरमा भएको कार्यक्रममा सभापति गगन थापाले जलवायु परिवर्तनको विषयलाई देश विकासको मुख्य एजेण्डा बनाउनुपर्ने बताए ।
‘जलवायु परिवर्तन र बीपीको विचार’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले सामाजिक न्याय, मानव कल्याण र नैतिक जिम्मेवारी बिनाको विकास अर्थहीन हुने उल्लेख गरे । बीपी कोइरालाको ४५ औँ स्मृति दिवसका अवसरमा आज विभिन्न कार्यक्रम भैरहेका छन् ।






