काठमाडौँ,६ साउन ।
आज बुधबार दिउँसो र राति पनि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

यसैगरी दिउँसो मधेस प्रदेश तथा कोसी,बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोसी, बागमती,गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसम महाशाखाका अनुसार राति कोसी र मधेस प्रदेश तथा देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ,तराईमा भने आंशिक बादल लाग्नेछ ।

यस क्रममा आज राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेस प्रदेश तथा कोसी,बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान, कर्णाली प्रदेशका पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम महाशाखाले बिहानी बुलेटिनमा उल्लेख गरेको छ ।

आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसम महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले दिएको जानकारीअनुसार काठमाडौँ उपत्यकामा अहिले बिहान एकछिन मौसम खुलेजस्तो भए पनि दिउँसोपछि बादल बढ्ने र वर्षा हुने सम्भावना छ ।

‘त्यस्तै दिउँसो १/२ बजेपछि वर्षा सुरु हुने अनुमान छ’,उनले नेपालखबरसँग भने,‘दिउँसोदेखि रातिसम्मको अवधिमा आज काठमाडौँ उपत्यकामा मध्यम वर्षा हुने सम्भावना छ ।’

यी जिल्लामा बाढीको सम्भावना

वर्षा सम्भावनासँगै आज देशका विभिन्न स्थानमा बाढीको जोखिम देखिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार आज काठमाडौँसहित १८ जिल्ला र त्यस आसपासका खोला तथा नदीमा आकस्मिक बाढी आउने सम्भावना छ ।

बाढी महाशाखाले भनेको छ,‘आज तेह्रथुम, संखुवासभा, रामेछाप, दोलखाकाभ्रेपलाञ्चोक,काठमाडौँ, भक्तपुर, ललितपुर,कास्की, तनहुँ,स्याङ्जा, पर्वत, बागलुङ, बाजुरा, डोटी, डडेलधुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमकाे सम्भावना छ ।’