काठमाडौं,४ साउन ।
सार्वजनिक बिदाहरूको पुनरवलोकन गर्न सरकारले गृहकार्य थालेको छ । सचिवस्तरीय बैठकले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिन थालेपछि हाल कायम सार्वजनिक बिदा धेरै भएको निष्कर्ष निकालेको हो ।
ती बिदालाई घटाउने वा परिमार्जन गर्ने सम्बन्धमा अध्ययन गर्न एक उच्चस्तरीय कार्यदल गठन गरिएको छ ।
गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिलाई समावेश गरिएको छ। कार्यदलले १५ दिनभित्र सार्वजनिक बिदाहरूको पुनरवलोकन गरी प्रतिवेदन पेश गर्नुपर्नेछ ।
सातामा दुई दिन बिदा हुँदा वर्षभरिका अन्य चाडपर्व र दिवसका बिदाले सरकारी कार्यालय धेरै दिन बन्द हुने र यसबाट नागरिक सेवा प्रभावित हुने भन्दै कार्यदलको प्रतिवेदनका आधारमा आगामी वर्षको बिदा क्यालेन्डरमा केही साबिकका बिदाहरू कटौतीको तयारी गरिएको बताइएको छ ।







