काठमाडौँ,४ साउन ।
लगातारको वर्षासँगै पहिरो, लेदो र सम्भावित बाढीका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरीका अनुसार आज बिहान ९ बजेसम्मको विवरणअनुसार धेरै स्थानमा सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही क्षेत्रमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो तथा लेदो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङस्थित पृथ्वी राजमार्गमा पनि पहिरो झरेपछि सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ ।
रसुवाको उत्तरगया गाउँपालिकास्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड,रोल्पाको माडी गाउँपालिकास्थित रुकुम–घोराही शहीद मार्ग,दार्चुलाको महाकाली राजमार्ग,बागलुङको जैमिनी नगरपालिकास्थित कालीगण्डकी करिडोर तथा खोटाङको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–भोजपुर सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
यस्तै इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग हिलोका कारण बन्द भएको छ भने ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकास्थित मेची राजमार्गमा पनि पहिरो खसेपछि यातायात सेवा प्रभावित बनेको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिकास्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा माथिबाट ढुङ्गा खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ ।
यसैबीच सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था गरिएको छ ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षायामभर साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।
विपद् जोखिम न्यूनीकरणका लागि विभिन्न प्रदेशमा रातिको सवारी सञ्चालनमा विशेष प्रतिबन्ध लगाइएको छ । कोशी प्रदेशका इलाम, तेह्रथुम,सङ्खुवासभा,भोजपुर, धनकुटा, पाँचथर, खोटाङ र सोलुखुम्बुका विभिन्न सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।
बागमती प्रदेशमा काभ्रे, सिन्धुली, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, मकवानपुर र चितवनका प्रमुख सडक तथा राजमार्गमा पनि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। विशेषगरी नारायणगढ–मुग्लिन–काठमाडौँ सडकखण्डमा अर्को सूचना जारी नभएसम्म रातिको सवारी आवागमन बन्द रहने जनाइएको छ ।
गण्डकी प्रदेशमा कास्की, गोरखा, स्याङ्जा, लमजुङ, बागलुङ र म्याग्दीबाट छुट्ने लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारी साधन सञ्चालनसमेत अस्थायी रूपमा रोकिएको छ ।
सुरक्षा निकायले वर्षाका कारण सडकको अवस्था जोखिमपूर्ण रहेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न, यात्रा गर्नुपरे सम्बन्धित जिल्लाको सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा प्रहरी र स्थानीय प्रशासनको निर्देशन पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।







