काठमाडौँ,२ साउन ।
आज साउन २ र ३ गते मनसुनी गतिविधि थप सक्रिय हुने भएकाले देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार साउन २ गते शनिबार र ३ गते आइतबार देशका हिमाली तथा पहाडी भूभाग,कोशी, बागमती,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश,बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ ।
यस्तै, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । देशभरका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ ।
महाशाखाका अनुसार बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली उत्तर–पश्चिमतर्फ सर्ने क्रममा रहेकाले मनसुन थप सक्रिय हुने अवस्था बनेको हो ।
सम्भावित वर्षाका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण र सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले उक्त मौसमी प्रणालीको निरन्तर अनुगमन भइरहेको जनाउँदै परिस्थितिअनुसार नियमित रूपमा अद्यावधिक सूचना जारी गरिने जनाएको छ । साथै, सर्वसाधारणलाई पछिल्ला मौसमी सूचना नियमित रूपमा पालना गर्न पनि अनुरोध गरिएको छ ।







