बुटवल.१ साउन ।
बुटवलको घना बस्तीका बिचमा रहेको विद्युतको हाईटेन्सन लाईन हटाउने कार्य सुरु भएको छ ।

हाईटेन्सन लाईन हटाएसँगै वर्षौदेखि दुर्घटनाको जोखिम माेलेर बस्दै आएका स्थानीयका लागि ५० वर्षपछि राहत मिलेको छ ।

नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि पुरानो ३.३ केभीको हाईटेन्सन लाइन हटाउने काम सुरु गरेको हो ।

बुटवल उपमहानगरपालिका–३ को इलाका प्रहरी कार्यालय बुटवलदेखि चिडियाखोलासम्म फैलिएको यो पुरानो हाइटेनसन लाइन हटाउने काम सुरु गरेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रा देवी अर्यालका अनुसार यस लाइनका कारण २५० भन्दा बढी घरधुरी प्रत्यक्ष रूपमा प्रभावित भएका थिए ।

वर्षौँदेखि स्थानीयहरू त्रासका बीच बस्न बाध्य थिए। यो हाईटेन्सन लाइन वि.सं.२०३० सालतिर तिनाउ खोलामा सञ्चालित बुटवल पावर हाउसबाट बुटवलका उद्योगहरूमा विद्युत आपूर्ति गर्न निर्माण गरिएको थियो । त्यतिबेला यहाँ बस्ती कम थियो । तर समयसँगै घरहरू बने,जनसंख्या बढ्यो र उद्योगका लागि बनाइएको लाइन नै मानिसको घरमाथिबाट गुज्रिने जोखिमपूर्ण संरचनामा बदलियो।नेपाल विद्युत प्राधिकरणले अहिले सिद्धार्थ राजमार्ग हुँदै वैकल्पिक हाईटेन्सन लाइन निर्माण गरेपछि पुरानो लाइन हटाउने काम सुरु गरेको हो ।यससँगै वर्षौँदेखि दुर्घटनाको सम्भावित जोखिम माेलेर बसेका सयौँ परिवारले राहत महसुस गर्न थालेका छन् ।

हाइटेनसन लाइन हटाउने कार्यकाे आज बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय,उपप्रमुख सावित्रा देवी अर्याल बुटवल वडा नं ३ का अध्यक्ष बिष्णु ढकाललगायतले स्थलगत अवलोकन गरेका थिए ।