काठमाण्डाै,२८ असार ।
काठमाण्डाैकाे त्रिपुरेश्वमार रहेकाे राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकारबीच ९ बुँदे सहमति भएको छ ।

नेपाल सरकार तथा काठमाण्डाै महानगरपालिका र पीडित परिवारबीच राहत प्रदान, गणेशकी छोरीको उच्च शिक्षासम्मको व्यवस्था, श्रीमतीलाई रोजगारी उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धान गर्नेलगायतका विषयमा सहमति भएको हो । सम्झौता गर्न गृहमन्त्री सुधन गुरुङ जिल्ला प्रशासन कार्यालय काठमाण्डाै पुगेका थिए ।

मुगुको सोरु गाउँपालिका–६ जमलधारा स्थायी घर भएका गणेश भक्तपुरको कमलविनायकमा बस्दै आएका थिए । ‘राइड शेयरिङ’ सम्बन्धी काम गर्ने नेपालीको मोटरसाइकलमा काठमामाण्डौको महानगरीय प्रहरीले ‘ह्विल लक’ गरेका कारण शुरू भएको विवादपछि घटना भएको हो ।

गएकाे बिहीवार आत्मदाह प्रयास गरेका गणेशको उपचारका क्रममा वीर अस्पतालमा शुक्रवार बिहान निधन भएको थियो ।

गणेशको मृत्युबारे उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वको ५ सदस्यीय समितिले छानबिन गरिरहेको छ ।