गुल्मी,२१ असार ।
कुलोले बगाउँदा गुल्मीको मुसिकोट नगरपालिका–१ बगाहामा एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ सिरानटोलका ६८ वर्षीय वीरबहादुर सुनार रहेका छन् ।
आइतबार दिउँसो करिब साढे १२ बजे बाटोमा हिँडिरहेका बेला ती वृद्ध अचानक कुलोमा लडेका थिए ।
उनी बडिगाड लघुविद्युत् समुदायको ड्यामबाट बग्ने कुलोमा खसेपछि करिब १०० मिटर तल रहेको ट्यांकीसम्म बगेका थिए ।
दिउँसो करिब साढे २ बजे स्थानीयले ट्यांकीमा उनको शव अड्किएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयका अनुसार ती वृद्धले मदिरा सेवन गरेका कारण कुलोमा लड्न पुगेको हुन सक्ने आशंका गरिएको छ ।
घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसी नेतृत्वको टोली घटनास्थल पुगेको छ ।






