बुटवल,२० असार ।
बुटवलका अग्रज पत्रकार महेन्द्र थापाद्वारा लिखित मणिमुकुन्द सेन र उजिरसिंह थापा व्यक्ति व्यक्तित्व र याेगदान नामक पुस्तक लाेकार्पण गरिएको छ ।

पुस्तककाे शनिबार बुटवलमा एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय,संस्कृतिविद् बिमलबहादुर शाक्य,अग्रज पत्रकार मदनलाल पाैडेललगायतले लाेकार्पण गरेका हुन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख पाण्डेयले बुटवलको ऐतिहासिक महत्वलाई उजागर गर्नेगरि प्रकाशित पुस्तक इतिहासको अध्ययन गर्नेहरूका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

देशकै गाैरवकाे रूपमा रहेको नेपाल-अंग्रेज फाैजबीचकाे जितगढी युद्धका कमान्डर कर्णेल उजिरसिंह थापा र तत्कालीन पाल्पाली सेनवंशी राजाकाे योगदानकाे बिषयमा खाेजमूलक पुस्तक बुटवलकाे प्रचारप्रसारमा उपयोगी हुने बताए ।

अग्रज पत्रकार मदनलाल पाैडेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा
संस्कृतिविद् बिमलबहादुर शाक्य,बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष राम प्रसाद आचार्य,पुस्तकका लेखक महेन्द्र थापालगायतले पुस्तक बारे आ आफ्नो भनाइ राखेका थिए ।