बुटवल,८ असार ।
गत शुक्रवार नेपाल प्रवेश गरेको मनसुनी वायु आज कोशी, मधेश र बागमती प्रदेशको सम्पूर्ण भू–भाग, गण्डकी प्रदेशको केही भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी भू–भागको थोरै ठाउँसम्म फैलिएको छ ।

मनसुन नेपालमा प्रवेश गरेको चौथो दिन आज मनसुन आगमनसम्बन्धी दोस्रो बुलेटिन निकल्दै जल तथा मौसम विज्ञान विभागले मनसुन फैलिएको बारेमा जानकारी दिएको हो ।

यस वर्ष औसत मितिभन्दा ६ दिन ढिला नेपाल भित्रिएको मनसुन नेपालमा फैलिने क्रम भने स्वाभाविक देखिएको छ । अघिल्लो वर्ष सरदर मितिभन्दा १५ दिनअघि नै मनसुन नेपाल भित्रिए पनि फैलिन समय लागेको थियो ।

यस वर्षको मनसुनमा देशभरि सरदरभन्दा कम वर्षा र बढी गर्मी हुने पूर्वानुमान छ । प्रशान्त महासागरमा विकसित एल–निनोका कारण विशेषगरी पश्चिम नेपालमा पानी निकै कम पर्ने जोखिम रहेको विज्ञहरू बताउँछन् ।

मनसुन ऋतुअनुसार चल्ने हावाको बहाव हो जुन नेपालमा साधारणतया हिन्द महासागरबाट बङ्गालको खाडीको बाटो हुँदै प्रवेश गर्छ । मनसुनी वायु समुद्रबाट जमिनतर्फ बहने भएकाले यसमा प्रशस्त जलवाष्प हुन्छ । त्यसैले यो वायु बहँदा वर्षा हुन्छ ।

नेपालमा हुने कुल वर्षाको ८० प्रतिशत झन्डै ४ महिना रहने मनसुनमा हुन्छ । दक्षिण एशियाको एउटा महत्त्वपूर्ण वायुमण्डलीय प्रणालीका रूपमा रहेको मनसुन नेपालको जनजीविका तथा अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित छ ।