चितवन,७ असार ।
नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छोटो अवधिमै हासिल गरेको जनसमर्थनलाई लोभलाग्दो उपलब्धिका रूपमा चित्रण गर्दै त्यसको सही सदुपयोग गर्न आग्रह गरेका छन् ।
चितवनको भरतपुरमा आइतबार आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले चार वर्षको अवधिमा रास्वपाले प्राप्त गरेको जनमत र जनविश्वास उल्लेखनीय रहेको बताए । उनले रास्वपाका सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन्द्र शाहलाई शुभकामना व्यक्त गर्दै पार्टीको आगामी यात्राका लागि सफलताको कामना गरे ।
सभापति थापाले नेपालको राजनीतिक इतिहासमा जनमतको बलमा उदाएका दल तथा नेताहरू अहङ्कारका कारण असफल बनेका उदाहरणहरू रहेको स्मरण गराउँदै रास्वपालाई त्यसतर्फ सचेत रहन सुझाव दिए। उनले जनताको विश्वासलाई जिम्मेवारीपूर्वक उपयोग गर्नुपर्नेमा जोड दिँदै विगतका गल्तीबाट पाठ सिक्न आग्रह गरे ।
“जनमतको जगमा अहङ्कार पलाउँदा विगतमा ठूला–ठूला दुर्घटनाहरू भएका छन्। त्यसले मुलुकको धेरै समय खेर गएको छ,” उनले भने, “रास्वपालाई प्राप्त जनमतको सम्मान होस् र त्यो विश्वास कुनै दुर्घटनामा नपरून् भन्ने मेरो शुभेच्छा छ।”
उनले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा आवश्यक भए पनि एकअर्कालाई दुश्मनका रूपमा हेर्न नहुने धारणा व्यक्त गरे। कांग्रेसले आफूलाई सुधार्दै अघि बढ्ने नीति अवलम्बन गरेको उल्लेख गर्दै अरूलाई कमजोर देखाएर आफू बलियो बन्ने बाटो नअपनाउने स्पष्ट पा रे।
“हामी प्रतिस्पर्धी हौँ, दुश्मन होइनौँ,” उनले भने, “कांग्रेस आफूलाई अझ सफा र सुदृढ बनाउन चाहन्छ, तर अरूलाई फोहोर देखाएर मात्र आफू राम्रो देखिने राजनीति हामी गर्दैनौँ ।”
सभापति थापाले संसदमा कांग्रेसको भूमिका सधैँ रचनात्मक रहने बताउँदै सरकार वा कुनै पनि राजनीतिक शक्तिको कामको मूल्याङ्कन गुण र दोषका आधारमा गरिने स्पष्ट गरे । राम्रो कामको समर्थन र गलत कार्यको विरोध कांग्रेसको संसदीय दायित्व रहेको उल्लेख गर्दै उहाँले संसदभित्र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिने बताए ।
“सरकारका गलत काममा हामी औँला ठड्याउँछौँ, राम्रो काम हुँदा थपडी पनि बजाउँछौँ,” उनले भने, “कांग्रेसले आफ्नो जिम्मेवारी संसदभित्रैबाट पूरा गर्नेछ।”






