काठमाण्डौ,७ असार ।
कोशी प्रदेशका पहाडी तथा तराईका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम तराईका केही क्षेत्रमा भने तातो लहरको जोखिम कायमै छ । गएराति गण्डकी प्रदेशदेखि पूर्वका धेरैजसो क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएको छ । विशेष गरी बागमती प्रदेशदेखि पूर्वका भागमा वर्षा भएको हो ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक÷दुई ठाउँमा भने ठूलो वर्षा हुन सक्ने पूर्वानुमान छ । रातिको समयमा पनि कोशी प्रदेशका पहाडी तथा तराईका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षासँगै नदी, खोलानालामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो तथा तराई क्षेत्रमा डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । मनसुन पूर्वी नेपालमा सक्रिय भए पनि पश्चिम तथा मध्य क्षेत्रका केही भागमा गर्मीको प्रभाव कायमै छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही ठाउँमा तातो लहर चल्ने सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा पनि तापक्रम बढ्ने अनुमान गरिएको छ । अत्यधिक गर्मीका कारण पश्चिम तराई क्षेत्रको दैनिक जनजीवन प्रभावित हुँदै आएको छ ।

महाशाखाका अनुसार यस वर्षको मनसुन जुन १३ तारिखमा प्रवेश गर्नुपर्ने औसत मितिभन्दा ६ दिन ढिला गरी अस्ति जुन १९ तारिखमा पूर्वी नेपालबाट भित्रिएको हो । प्रारम्भिक चरणमा मनसुन कमजोर रहेकाले देशभर फैलिन अझै केही समय लाग्ने अनुमान गरिएको छ ।