काठमाडौँ,३ असार ।
देशमा हाल पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेकाले आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराईका थोरै स्थान र मधेश प्रदेशका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने केही स्थानमा तातो दिन रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि कोशी, गण्डकी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । कोशी प्रदेशको तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।