काठमाण्डाै,२८ जेठ ।
यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आइपुगेको मौसमविद्ले जनाएका छन् । यद्यपि जल तथा मौसम विज्ञान विभागले भने यसको पुष्टि गरेको छैन । मनसुनी वायुको गतिविधि देखिए पनि परिपक्व भइनसकेको विभागको भनाइ छ ।
भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बङ्गालको खाडी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ । नेपालमा सरदर जुन १३ तारिखमा मनसुन भित्रिने गर्छ । आज जुन ११ तारिख हो । यसपालि औसत मिति आसपासमै मनसुन भित्रिने मौसमविद्काे अनुमान छ ।
गएको वर्ष सरदरभन्दा १५ दिन अगाडि नै मनसुन नेपाल भित्रिएको थियो । तर चाँडै नेपाल भित्रिए पनि लामो समय पूर्वी भेगमै बसेको थियो ।
यसैबीच आज देशभरको गर्मी निकै घटेको छ । पछिल्लो २४ घण्टामा सबैजसो तराई र मध्यपहाड क्षेत्रमा पानी परेसँगै गर्मी घटेको हो । आज पश्चिम तराईका जिल्लामा पनि अधिकतम तापक्रम ३१–३२ डिग्री सेल्सियस आसपास रहेको छ ।
लामो समयदेखि गर्मीको मार खेप्दै आएका पश्चिम तराईका बासिन्दाले आज धेरै सहज भएको बताएका छन् । आज रातिसहित भोलि र पर्सि पनि देशका विभिन्न भागमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानी परेसँगै चर्को गर्मी घट्ने अनुमान छ ।
अहिले कोशी,बागमती,गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली क्षेत्रका १/२ ठाउँमा पानी परिरहेको विभागले जनाएको छ ।







