काठमाडौँ,२६ जेठ ।
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिएका छन् ।

मंगलबार अपराह्न राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मंगलबार नै उनीहरूलाई मन्त्री नियुक्त गरेका थिए ।

गुरुङ डेढ महिनापछि गृह मन्त्रालय फर्किएका हुन् । सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग जोडिएपछि गुरुङले गत वैशाख ८ गते पदबाट राजीनामा दिएका थिए ।

त्यसपछि सरकारले गठन गरेको छानबिन समितिले गुरुङलाई ‘क्लिनचिट’ दिएको थियो । त्यसपछि प्रधानमन्त्री शाहले उनलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

त्यस्तै, विज्ञानमन्त्री नियुक्त भएका पुन स्वतन्त्र सांसद हुन् । उनी म्याग्दीबाट निर्वाचित भएका हुन् ।

उनी यसअघि सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री थिए । आफूले भनेअनुसार, विधेयक ल्याउन नपाएकाे भन्दै राजीनामा दिएर उनी चुनाव लडेका थिए ।