अबको समय साहित्यमै बिताउँछु : सुशीला कार्की

काठमाडौं,२३ जेठ ।
दक्षिण एसियाली साहित्य, संस्कृति र बौद्धिक संवादलाई नयाँ उचाइमा पुर्याुउने उद्देश्यसहित चौथो संस्करणको ‘काठमाडौं–कलिङ्ग साहित्य महोत्सव’ शुक्रबार ललितपुरस्थित होटल हिमालयमा सुरु भएको छ । ‘बियन्ड बोर्डर्सः परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ भन्ने मूल विषयसहित आयोजित दुईदिने महोत्सवको उद्घाटन पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गरिन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै महोत्सवकी निर्देशक रञ्जना निरौलाले साहित्य केवल शब्द र पुस्तकमा सीमित नहुने बताइन् । साहित्य विचार, संस्कृति, स्मृति, संवेदना र मानवीय सम्भावनाको साझा उत्सव भएको उल्लेख गर्दै उनले महोत्सवलाई मानिस–मानिसबीच आत्मीयता र आपसी समझदारी विस्तार गर्ने साझा मञ्चका रूपमा चित्रित गरिन् ।

‘साहित्यको सबैभन्दा ठूलो शक्ति भनेकै यही हो, यसले भौगोलिक सीमालाई पार गर्छ, भाषागत भिन्नतालाई आत्मीयतामा रूपान्तरण गर्छ र मानिसलाई मानिससँग जोड्ने अदृश्य पुल निर्माण गर्छ,’ उनले भनिन् । उनका अनुसार काठमाडौं र कलिङ्ग केवल दुई भौगोलिक नाम होइनन्, ती सभ्यता, संस्कृति, परम्परा र बौद्धिक यात्राका प्रतीक हुन् । दक्षिण एसियाली साहित्य, संस्कृति र विचारको आदानप्रदानलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवले क्षेत्रीय सहकार्य र संवादलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरियो । कार्यक्रमकी प्रमुख अतिथि सुशीला कार्कीले आफूलाई केवल पूर्वप्रधानन्यायाधीश वा पूर्वप्रधानमन्त्रीका रूपमा मात्र नभई साहित्यप्रेमीका रूपमा बुझ्न आग्रह गरिन् । न्यायपालिका र राज्य सञ्चालनमा आफूले निर्वाह गरेका भूमिका कर्तव्यको उपज भए पनि साहित्य भने आफ्नो अन्तर्मनको रुचि र अभिव्यक्तिको माध्यम रहेको उनको भनाइ थियो । ‘मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ,’ कार्कीले भनिन्, ‘अबको समय साहित्य क्षेत्रमै बिताउने सोच बनाएकी छु ।’ आफ्नो साहित्यिक यात्राबारे चर्चा गर्दै उनले सन् १९९० को जनआन्दोलनका क्रममा जेल जीवन भोग्नुपरेको अनुभव सुनाइन् । दुई महिनाको कारावास अवधिमा महिला बन्दीहरूको पीडा, संघर्ष र जीवनकथालाई नजिकबाट नियालेपछि आफूले ‘कारा’ उपन्यास लेखेको बताइन् । उक्त कृति भने उनले सेवा निवृत्तिपछि मात्र प्रकाशनमा ल्याएकी थिइन् । कार्कीले विश्वप्रसिद्ध उपन्यास ‘द गुड अर्थ’की लेखिका पर्ल एस. बकले चीनको गरिबी, खडेरी र जनजीवनलाई सूक्ष्म अवलोकनमार्फत साहित्यमा उतारेको प्रसंग उल्लेख गर्दै साहित्य कल्पनाभन्दा बढी समाज, अनुभव र मानवीय संवेदनाको अभिव्यक्ति भएको धारणा राखिन् । ‘मेरोसँग अझै धेरै कथा, उपन्यासका अवधारणा र आधा लेखिएका पाण्डुलिपि छन्,’ उनले भनिन्,‘ती सबैलाई पूर्णता दिने योजना बनाएकी छु ।’

महोत्सवका संस्थापक निर्देशक तथा क्युरेटर रश्मि रञ्जन परिडाले यस संस्करणमा प्यानल छलफल, मुख्य वक्तव्य, कविता वाचन, सांगीतिक प्रस्तुति, लेखकसँग अन्तरक्रिया, पुस्तक विमोचन, कार्यशाला, सांस्कृतिक साँझ तथा सीमापार साहित्यिक सहकार्यका कार्यक्रम समेटिएको जानकारी दिए । महोत्सवमा भारतकी चर्चित गायिका इला अरुण, प्रख्यात साहित्यकार प्रतिभा राय, अभिनेता तथा लेखक पियुष मिश्रा, लेखक तथा फिल्म निर्माता राज शेखर, आध्यात्मिक वक्ता आचार्य प्रशान्तलगायत दक्षिण एसियाका ख्यातिप्राप्त साहित्यकार, लेखक, अनुसन्धानकर्ता र सांस्कृतिक व्यक्तित्वहरूको सहभागिता रहेको छ ।

त्यसैगरी विकास स्वरूप, परमिता सत्पथी, उपेन्द्रनाथ बेहरा, बद्री नारायण, नीना वर्मा, अर्चना सिंह, जयप्रकाश पाण्डेय, कुला सैकिया, मालिनी अवस्थी, नारायणी बसु, सतीश पद्मनाभन, यतीन्द्र मिश्र, सन्दीप सिंह, विक्रम सम्पत, अनन्त विजय, यतीश कुमार, बुद्धिसागर, आशुतोष अग्निहोत्री, सुजित कुमार र युनुस खानलगायतको उपस्थिति रहेको आयोजकले जनाएको छ । सन् २०२२ देखि काठमाडौं संस्करण आयोजना गर्दै आएको कलिङ्ग साहित्य महोत्सवले नेपाल, भारत तथा अन्य दक्षिण एसियाली मुलुकबीचको साहित्यिक, सांस्कृतिक, आध्यात्मिक र सभ्यतागत सम्बन्धलाई अझ सुदृढ बनाउने लक्ष्य लिएको छ ।