काठमाण्डौ,२३ जेठ ।

भोलि र पर्सि पनि मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही ठाउँहरुमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार ती क्षेत्रको अधिकतम तापक्रम ३८ डिग्री सेल्सिअस वा त्यस भन्दा बढी रहने सम्भावना छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार समथर क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि र पहाडी क्षेत्रमा ३० डिग्री सेल्सिअसभन्दा माथि पुगेको अवस्थालाई तापलहर अर्थात् ‘हीटवेभ’ भन्ने गरिन्छ ।

गएको बिहिवार बेलुका महाशाखाले तापलहरसम्बन्धी चेतावनी जारी गरेको थियो । यो गर्मीयाम शुरू भएयता तापलहरको चेतावनी चौथो हो । नेपालमा २६.७ डिग्री सेल्सियसलाई गर्मीयामको औसत अधिकतम तापक्रम मानिएको छ । तर पछिल्ला तीन वर्ष लगातार औसत अधिकतम तापक्रमको सीमा पार भएको छ ।

यो वर्ष प्रशान्त महासागरीय क्षेत्रमा उत्पन्न हुने एल निनेको असरले गर्दा नेपालमा सुक्खापन ल्याउने र तापक्रम औसतभन्दा माथि जाने मौसमविद्को अनुमान छ । पछिल्लो तीन घण्टामा गण्डकी, बगमती र सुदुरपश्चिम प्रदेशका केही ठाउामा पानी परेको छ ।

यसैबीच नेपालमा मनसुन भित्रिन अझै एक हप्ता लाग्ने मौसमविद्को अनुमान छ । अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको र बङ्गालको खाडी हुँदै नेपालमा मनसुन आइपुग्न एक हप्ता लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा औसत जुन १३ तारिखमा मनसुन भित्रिने गर्छ । आज जुन ६ तारिख हो ।