काठमाण्डौ,२३ जेठ ।

राष्ट्रिय मानव अधिकार आयोगले गएको भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा बालबालिकालाई मानवीय ढालका रूपमा प्रयोग गरेको र हिंसा भड्काउन उत्तेजक भूमिका खेलिएको निष्कर्ष निकालेको छ । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा बोल्दै आयोगद्वारा गठित जाँचबुझ समितिकी संयोजक एवम् आयोग सदस्य डा. लिली थापाले यस्तो बताउनुभएको हो ।

प्रतिवेदनमा प्रधानमन्त्री र नेपाली सेनालाई उन्मुक्ति दिइएको भन्ने प्रश्नको खण्डन गर्दै डा. थापाले तथ्य र प्रमाणका आधारमा मात्र सिफारिस गरिएको स्पष्ट पार्नुभयो । नेपाली सेनाका जिम्मेवार कमाण्डरहरूलाई सचेत गराउन र यस्ता कार्य नदोहोर्‍याउन निर्देशन दिने सिफारिस गरिएको छ ।

जाँचबुझका क्रममा आयोगले ४ सय ३७ वटा भिडियो क्लिपको अध्ययन गरेकामा ३५ वटा वास्तविक पुष्टि भएका थिए । ती भिडियोमा बालबालिकालाई अगाडि राखी मानव ढाल बनाउन, बम बनाउन सिकाउन र सुरक्षाकर्मीमाथि आक्रमण गर्न उत्तेजक निर्देशन दिइएको प्रमाण भेटिएको छ ।

आन्दोलनमा उत्तेजक भूमिका देखिएका ५४ जना व्यक्तिको पहिचान गरी थप अनुसन्धान आवश्यक रहेको आयोगको ठहर छ । नेपालले बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरिसकेकाले आन्दोलनमा बालबालिकाको प्रयोगलाई आयोगले मानव अधिकारको गम्भीर उल्लङ्घनको रूपमा व्याख्या गरेको छ ।