काठमाडौँ,२२ जेठ ।
प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएकाे आराेपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर रिहा भएका छन् ।

उपराष्ट्रपति कार्यालयका सचिव पुष्करलाई प्रहरीले करिब ७ घण्टा नियन्त्रणमा लिएर छोडेको घटनाले कर्मचारीतन्त्र तरंगित बनेको छ । पुष्करलाई विहिबार साँझ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कपनस्थित घरबाट पक्राउ गरेको थियो ।

सचिव पुष्करलाई प्रधानमन्त्री बालेन्द्र शाहलाई निजी सन्देश पठाएर ‘चेन अफ कमान्ड’ उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिइएको बताइएको छ ।

असार २४ गते सचिव पदको पाँच वर्षे अवधि पूरा गरी अवकाश हुन लागेका पुष्करले प्रधानमन्त्रीलाई भेट्न पटक पटक गरेको प्रयास असफल भएपछि निजी मोबाइलमा सन्देश पठाएको बताइएको छ ।

प्रहरीले सोधपुछ गरेपछि मुद्धा चलाउनुपर्ने पर्याप्त कारण नदेखेपछि पत्नीको जिम्मा लगाएर बिहीबारै राति छोडेको थियो ।