काठमाडौँ,२० जेठ ।
नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल तथा कोशी, मधेश र बागमती प्रदेशको तराई भू-भागमा मुख्यतया माैसम सफा रहेको छ । लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरू तथा कोशी बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भईरहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशमा तथा कोशी,बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशको हिमाली भू-भागमा साधारणतया बादल, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको हिमाली र पहाडी भू-भाग लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।