काठमाडौं,१७ जेठ ।
नेकपा एमालेले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसद् बैठकका क्रममा व्यक्त गरेका केही भनाइ संसदकाे अभिलेखबाट हटाउन माग गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले नियमापत्ति जनाउँदै सभामुखले प्रतिनिधिसभा नियमावलीको व्यवस्था विपरीत व्याख्या गरेको आरोप लगाए ।

महरले प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रममा तीन दिनअघि नै प्रश्न उपलब्ध गराउनुपर्ने स्पष्ट व्यवस्था नियमावलीमा रहेको उल्लेख गर्दै सभामुखले त्यसको विपरीत अभिव्यक्ति दिएको दाबी गरे ।

‘प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि तीन दिनअघि प्रश्न लिने व्यवस्था छैन भनेर सभामुखबाट गरिएको टिप्पणी नियमावलीअनुसार छैन । त्यसैले उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गर्दछु,’ महरले बैठकमा भने ।

प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन चाहने सांसदले तीन दिनअघि नै आफ्नो प्रश्न सभामुखसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।

तर आइतबारको बैठकमा प्रधानमन्त्री बालेन शाह आकस्मिक रूपमा रोष्ट्रममा उभिएर सांसदहरूका प्रश्नको जवाफ दिन तयार रहेको बताएका थिए । त्यसपछि केही सांसदहरूले सोधेका प्रश्नको जवाफ दिएर प्रधानमन्त्री बैठकबाट बाहिरिएका थिए ।

सोही क्रममा सभामुख अर्यालले प्रश्नोत्तरका लागि तीन दिनअघि प्रश्न दर्ता गराउनुपर्ने व्यवस्था नरहेको आशय व्यक्त गरेका थिए । सभामुखको उक्त व्याख्या नियमावलीसँग बाझिएको भन्दै एमालेले औपचारिक रूपमा आपत्ति जनाएको हो ।

सभामुखको अभिव्यक्तिलाई लिएर संसद्मा नियमावलीको व्याख्या र प्रक्रियामाथि नयाँ बहस सुरु भएको छ ।

संसदीय मर्यादा बिपरित सांसदहरूका अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्ने र हटाउने प्रक्रिया बिगतमा हुँदै आएकोमा अहिले भने सभामुखकै अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिएको हो ।