बुटवल,१७ जेठ ।
प्रतिनिधि सभाका सभामुख डिपी अर्यालले सांसदहरूलाई संसदीय मर्यादा कायम गर्न सचेत गराइरहँदा सांसदहरूले भने प्रतिनिधि सभा नियमावली अनुसार सदन चलाउन सभामुखको ध्यानाकर्षण गराएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूकाे प्रश्नाेत्तर कार्यक्रम प्रतिनिधि सभा नियमावली अनुसार सञ्चालन नभएको भन्दै सांसदहरूले नियमावलीमा व्यवस्था भए अनुसार सदन चलाउन सभामुखको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिनिधि सभा नियमावलीमा प्रधानमन्त्रीसँगकाे प्रश्नाेत्तर बारे तीन दिन अगाडिनै सदनमा जानकारी गराउनुपर्ने र तीन दिनअघिनै सांसदहरूले लिखित रूपमा प्रश्न राख्नुपर्ने व्यवस्था रहेको स्मरण गराउदै सांसदहरूले आजको प्रश्नाेत्तर नियमावली भन्दा फरक भएको दाबी गरे ।

सांसदहरू गुरु बराल,बर्षमान पुन,एन बहादुर महर,बासना थापा,खुस्वु ओली,ध्रुवराज राई,रमेश मल्लले प्रधानमन्त्री,सभामुख र सांसदहरू काेही पनि प्रतिनिधि सभा नियमावली र संविधान भन्दामाथि नभएको भन्दै नियमावली अनुसार सदन सञ्चालन गर्न सभामुखको ध्यानाकर्षण गराएका हुन् ।