दाङ,१३ जेठ ।
लुम्बिनी प्रदेश सरकारको बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बुधबार बसेकाे प्रदेश सभाको आठौं अधिवेसनको आठौं बैठकले आर्थिक बर्ष २०८३\०८४ को बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

यसअघि मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक बर्ष २०८३\०८४ को बार्षिक नीति तथा कार्यक्रम पारित गरियोस भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सभामुख तुलाराम घर्तीमगरले बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् । बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममाथी उठेका प्रश्नहरुको जवाफ दिदै नीति तथा कार्यक्रमको आधारमा सरकारले बजेट निर्माण गर्ने स्पष्ट पारेका थिए ।

आजको बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण सम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले आ आफ्नो धारणा राखेका थिए भने मन्त्री तिमिल्सिनाले त्यसको जवाफ दिएका थिए ।

यसैगरी बैठकमा मुख्यमन्त्री आचार्यले विभिन्न आयोगका वार्षिक प्रतिवेदनहरू प्रदेश सभामा पेश गरेका छन् । प्रदेश सभाको अर्को बैठक सूचना द्वारा जानकारी गराइने जनाइएको छ ।