काठमाडौँ,८ जेठ ।
राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न अब म्याद थप नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

पछिल्लोपटक बिहीबार जिल्ला अदालत पर्साले प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

उक्त म्यादभित्र अनुसन्धान सकिए पनि नसकिए पनि हिरासतमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको हो । प्रसाईलाई यसअघि तीन दिन हिरासतमा राखिसकिएको छ ।

प्रसाईंलाई कार्यक्रमका लागि पर्सा पुगेका बेला प्रहरीले पक्राउ गरेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेको छ ।

आफूलाई गैरकानुनीरूपमा हिरासतमा राखेको भन्दै प्रसाईंको तर्फबाट बन्दी प्रत्येक्षीकरण निवेदन दर्ता भएको थियो । त्यसको सुनुवाइमा सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले प्रसाईंको रिट खारेज गर्दै सरकारका नाममा उक्त आदेश जारी गरेको हो ।

वीरगञ्जको होटल सिद्धार्थ दियालोमा पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिलाई लिएर साइबर अपराध र राज्यविरुद्धको कसुरमा जरुरी पक्राउ पुर्जी दिएर प्रसाईंलाई जेठ ४ गते बेलुका प्रहरीले पक्राउ गरेको थियो । जेठ ५ गते पर्सा जिल्ला अदालतले पहिलो पटक ३ दिनकाे म्याद थप गरेको थियो । जेठ ७ गते दोस्रो पटक चार दिनको म्याद थप गरिएको छ ।

तर प्रसाईं घाँटीको क्यान्सर रोगबाट पीडित भई उपचाररत रहेको र नियमितरूपमा स्वास्थ्य जाँचका लागि चिकित्सकको परामर्श एवम् अनुगमनमा जानुपर्ने अवस्था समेत रहेको अदालतको आदेशमा उल्लेख छ ।

प्रसाईं भागीजाने अवस्थासमेत नदेखिएको भन्दै दोस्रो पटक थपिएको म्यादभित्र अनुसन्धान सम्पन्न भए सोहीअनुसार र नभए बाहिर राखी अनुसन्धान गर्न परमादेश जारी गरेको हो ।