अमेरिका १२२ रनले पराजित

काठमाडौँ,८ जेठ ।
नेपालले अमेरिकाबिरूद्व सानदार जित हात पारेको छ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग-२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई १२२ रनले पराजित गरेको हो ।

नेपालले दिएको ३१८ रनको लक्ष्य पछाएको अमेरिकाले ४१.२ ओभरमा अल आउट हुदै १९५ रन बनाएको हो ।अमेरिकाका लागि संजय कृष्णमुर्तिले सर्बाधिक ५६ रन बनाएका थिए भने शयान जहागिरले २७ र शेहान जयसूर्याले २६ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने ललित राजबंशी, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले २-२ विकेट लिएका थिए । त्यसैगरी सोमपाल कामीले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै ३१७ रन बनाएको थियो । नेपालका लागि इशान पाण्डेले सर्बाधिक ८४ रन बनाएका थिए । उनको यस सिरिजमा लगातार दोस्रो अर्धशतक हो । तेस्रो एकदिवसीय खेल खेलिरहेका इशानले दुई अर्धशतक बनाएर नेपालको मिडल अर्डरलाई बलियो बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ५९ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै कप्तान रोहित पौडेलले ४६, आसिफ सेखले ४३, कुशल भुर्तेलले २९, गुलशन झाले १५, सोमपाल कामीले ५ र आरिफ सेखले अविजित १८ रन बनाएका थिए । त्यसैगरी अमेरिकाका बलर शुभम रन्जानेले ३ विकेट लिएका थिए भने रुशील उग्राकर र मिलिन्द कुमारले एक एक विकेट लिएका थिए ।

यो जितपछि नेपालको २८ खेलमा २४ अंक भएको छ र नेपाल पाँचौं स्थानमा रहेको छ । त्यस्तै अमेरिकाको २८ खेलमा ३८ अंक रहेको छ ।