काठमाडौँ,२ जेठ ।
दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणत्मक सिरिजमा घरेलु टोलीसामु अमेरिकाले १ सय ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा १ सय ९५ रन बनाउँदा अलआउट भयो ।
ओपनर स्मित पटेलले सर्वाधिक ८३ रनको योगदान दिए। उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । त्यसअघि पाचौँ ओभरमा १४ रन बनाउँदा स्मितको क्याच ड्रप हुँदा जिवनदान पाएका थिए ।
दोस्रो विकेटका लागि स्मित र सेहनान जयसर्याले १ सय रनको साझेदारी गरे। सेहनान अर्धशतक पूरा गर्दै पेभेलियन फर्के । ५२ बलमा ५ चौका र १ छक्का प्रहार गरेका सेहनान दीपेन्द्रसिंह ऐरिको बलमा गुल्सन झा को हातबाट क्याच आउट भए ।
मिलिन्द कुमार २८ रन बनाउँदा दीपेन्द्र सिंह ऐरिको बलमा एलबीडब्लु धरापमा परे । मिलिन्द कुमारले ४१ बलमा २ चौका र २ छक्का हाने । हरमित सिंह १४ रन बनाउँदा दीपेन्द्रको बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए ।
कप्तान साइतेजा मुक्कामल्ला ४ रन बनाउँदा सन्दीप लामिछानेको बलमा बोल्डआउट भए । सयान जहानगिर ६ रनमा सोमपाल कामीको बलमा बोल्ड आउट भए । सञ्जय कृष्णमुर्ति १ रन बनाउँदा गुल्सन झाको बलमा ललित राजवंशीको हातबाट क्याच आउट हुन पुगे ।
शुभम रन्जाने २ रनमा रनआउट भए। मोहम्मद मोहसिन शुन्य रनमा नै रनआउट भए । नोस्तुस केन्जीके १ रन बनाउँदा दीपेन्द्रको बलमा एलबीडब्लु आउट भए ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरिले चार लिए। किफायती बलिङ गरेका उनले ७.३ ओभरमा मात्र २४ रन खर्चे ।
सोमपाल कामीले २ विकेट झारे। उनले ७ ओभरमा १ मेडन राख्दै ३५ रन खर्चे। सन्दीप लामिछाने र गुल्सन झाले समान एक विकेट लिए ।
घरेलु टोली नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ ।






