काठमाण्डौ,३१ वैशाख ।
अझै केही दिन देशका सबैजसो ठाउँमा बदली, वर्षा र हिमपातको सम्भावना कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार देशका सबैजसो भूभागमा वर्षा र बदली कायमै रहने भए पनि कोशी, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । अबको तीन दिनसम्म नै देशैभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् ढकालले बताए । प्रि–मनसुनको समय भएकाले तत्कालका लागि अबको तीनै दिन वर्षा र बदली कायमै रहने र त्यसपछि पनि पानी परिरहने उनको भनाइ छ ।

काठमाडौं उपत्यकासहित देशका मध्य र पूर्वी भेगका केही ठाउँमा आज बिहानपख पानी परेको छ । आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही ठाउँहरूमा तथा बाँकी हिमाली र पहाडी भू–भागका थोरै ठाउँहरूमा तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक/दुई ठाउँमा मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।