काठमाडौँ,२२ बैशाख ।
गुलशन र आसिफ चम्किदा ओमानमाथि नेपालले शानदार जित
हाशील गरेको छ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको हो ।
नेपालले दिएको २५७ रनको लक्ष्य पछाएको ओमानले ३९.३ ओभरमा अल आउट हुदै १७५ रन बनाएको थियो ।
ओमानका लागि विनायक शुक्लाले ३६ रन बनाएका थिए भने हम्माद मिर्जाले ३४ र हसनैन उल वहावले २९ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर गुलशन झाले ५ विकेट लिएका थिए भने करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ४९.५ ओभरमा अल आउट हुदै २५६ रन बनाएको थियो । नेपालका लागि आसिफ सेखले सर्बाधिक ९४ रन बनाएका थिए भने अर्जुन कुमालले ४८ रन बनाएका थिए । त्यस्तै आरिस सेखले २४ बलमा आक्रामक ४३ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले ३३ र गुलशन झाले १७ रनको योगदान दिएका थिए । त्यसैगरी ओमानका बलर नदीम खानले ३ विकेट लिए भने शकील अहमद र हसनैन शाहले २-२ तथा जितेन रामानान्दी र आर्यन विस्टले एक एक विकेट लिएका थिए ।
योसँगै नेपालले यस सिरिजका ४ खेलमा ३ खेल जितेर ६ अंक हासिल गरेको छ । नेपाल एक खेल ओमानविरुद्ध पहिलो खेलमा हार बेहोरेको थियो । यो सिरिजपछि लिग- २ को अंक तालिकामा नेपालको २४ खेलमा १८ अंक भएको छ र सातौं स्थानमा रहेको छ ।
त्यसैगरी ओमानको भने २८ खेलमा ३१ अंक रहेको छ र हाल तेस्रो स्थानमा रहेको छ ।








