काठमाडौँ,२२ बैशाख ।
नेपालमा हाल पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हाल देशभर पूर्णतया बादल लागेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धैरे स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा भईरहेको छ ।

आज दिउँसो देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ, तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी प्रदेशमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।